कोरियामा जुपिटरका कला प्रदर्शनी

nepal everest news Published On: Mon, Jun 11th, 2012

दक्षिण कोरियाले हरेक वर्ष विभिन्न देशबाट छानिएका कलाकारलाई कला रचना तथा प्रदर्शनीका लागि निमन्त्रणा गर्दछ । यो वर्ष नेपालबाट युवा पुस्ताका कलाकार जुपिटर प्रधान छानिएका छन् । पाँच महिनाको रेसिडेन्सी कार्यक्रमअन्तर्गत एसिया प्यासिफिक आर्टिस्ट फेलोसिप प्रोग्राम २०१२ मा सहभागी प्रधानका कला प्रदर्शनी हाल चेनदोङ आर्ट स्टुडियो, सोलमा भइरहेको छ । यो कार्यक्रम नेसनल म्युजियम अफ कन्टेम्पोरेरी आर्ट कोरियाको आयोजनामा भएको हो । प|mेब्रुअरी १, २०१२ देखि जुलाई २७ सम्म यो कार्यक्रम रहेको छ । सहभागी कलाकारले यो अवधिमा आयोजकले उपलब्ध गराएको स्थानमा रही कला सिर्जना गर्नुपर्दछ ।

यो कार्यक्रममा जुपिटर प्रधान नेपाल, पालगुना आइ माडे आर्य इण्डोनेसिया, योसिताका इमोतो र योको सिमिजु जापानका दुई जना, बोरिस ओइचरम्यान इजरायल  सहभागी भएका छन् । यो फेलोसिप पाउने कलाकारले पाँच महिनासम्म कला रचना गरी अन्तमा प्रदर्शनी गर्नुपर्ने भएकाले नेपाललगायत अन्य सहभागी मुलुकका कलाकारले आफ्ना कला प्रदर्शनी गरिरहेका छन् । यो कार्यक्रममा सहभागी कलाकारलाई आयोजकले यस बीचमा कोरियाका कल्चरल संग्रहालय र आर्ट स्पेसमा भ्रमण गराइएको थियो । रेसिडेन्सी प्रोग्राममा सहभागी कलाकारलाई कोरियाका प्रसिद्ध आर्ट क्युरेटर र समीक्षकसँग अन्तरक्रियासमेत गराइएको थियो ।

त्यस्तै, कोरियाका विभिन्न स्कुल तथा आर्ट ग्यालरीले पनि प्रधानका कला प्रदर्शनी गर्न ठाउँ उपलब्ध गराएका थिए । जुपिटरले लोक र परम्परागत कला र संस्कृतिमा आधारित रही कला बनाएका छन् । उनले स्थानीय कला र संस्कृतिलाई आफ्ना कलाको मूल विषय बनाएका छन् । त्यस्तै, सामाजिक तथा व्यक्तिगत जीवनका अनुभवलाई समेत आफ्ना कलाको आधार उनले बनाएका छन् । सामाजिक-राजनीतिक विषयमा केन्दि्रत रही प्रधानले केही कला बनाएका छन् । कोरिया र नेपाल बीचको दौत्य सम्बन्धलाई मध्यनजर गर्दै उनले कलामा यी दुई देशको प्रतिबिम्बलाई उतारेका छन् ।

%d bloggers like this: